पोखरा, २६ जेठ २०८३।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेश अधिवेशन स्थगित गरेको छ भने त्यससँग सम्बन्धित सबै गतिविधि रोकिएको जनाएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार सूचना जारी गरी मधेश प्रदेशको अधिवेशन स्थगित गरिएको जनाएका छन्। ‘मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ।
रास्वपाका प्रदेश अधिवेशन आजबाट शुरु भएका छन्। मधेशमा भने जिल्ला अधिवेशन र प्रतिनिधि छनोटका विषयमा झडप हुन थालेपछि रास्वपाले प्रदेश अधिवेशन स्थगित गरेको हो।
अधिवेशनसँग सम्बन्धित कुनै पनि क्रियाकलापन नगर्न भनिएको छ। ‘मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरूमा लागू हुनेछ,’ सूचनामा भनिएको छ।
