पोखरा, २६ जेठ २०८३।
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली तथा भूतपूर्व सैनिक एवं जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा मुख्य रूपमा बेलायती गोर्खा भूतपूर्व सैनिकहरूको लामो समयदेखि समाधान हुन नसकेका मुद्दा, विशेषगरी समानुपातिक पेन्सनको माग र अन्य गुनासाहरूका विषयमा छलफल भएको थियो।
संवादका क्रममा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धलाई सुदृढ बनाउन बेलायती गोर्खाहरूले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै उनीहरूका माग र समस्याको दुवै पक्षलाई स्वीकार्य हुने गरी शीघ्र समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए। उनले न्याय, निष्पक्षता र सम्मानका आधारमा यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग आग्रह पनि गरे।
बैठकमा बेलायती पक्षका तर्फबाट लुइस स्यान्डर–जोन्सले गोर्खा भूतपूर्व सैनिकसँग सम्बन्धित विषयहरू समाधानका लागि नेपाली पक्षसँग नजिकको सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राईसहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा रक्षा मन्त्रालयका अन्य उच्च अधिकारीहरू उपस्थित थिए।
भर्चुअल बैठकमा बेलायती गोर्खा सङ्गठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको मन्त्रालयले जनाएको छ।
यसअघि सोमबार मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग पनि भर्चुअल अन्तरक्रिया गरेका थिए। उक्त कार्यक्रमको समन्वय लन्डनस्थित नेपाली राजदूतावासले गरेको थियो भने कार्यवाहक राजदूत बिपिन दुवाडीले सहजीकरण गरेका थिए।