पोखरा, २५ जेठ २०८३।
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले बुढानीलकण्ठ १० बाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई चेक अनादरको मुद्दामा पक्राउ गरेको हो ।
नेपालविरुद्ध युवराज खत्रीले जाहेरी दिएका थिए । युवराज खत्रीले २०७६ सालमा भएको लेनदेनको बिषयलाई लिएर नेपाल बिरुद्ध जाहेरी दिएकोकारण पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ। अपराध अनुसन्धान कार्यालयले भने २०७९ जेठ २५ मा काठमाडौं जिल्ला अदालतले गरेको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको जनाएको छ ।
जाहेरीमा उल्लेख भए अनुसार खत्रीले नेपाललाई केही रकम ऋण दिएका थिए । उक्त ऋण तिर्न दिएको चेक नसाटिएको खत्रीको भनाइ छ ।
नेपालले भने आफूले पहिल्यै तिरिसकेको ऋणमा झूटो मुद्दा लगाइएको बताएका छन् । खत्रीले आफूलाई मिटर ब्याजमा फसाएर लामो समयदेखि दु:ख दिइरहेको उनको भनाइ छ ।