जुटेन सर्वदलीय बैठकमा सहमति : संसद अवरोध जारी रहने

जुटेन सर्वदलीय बैठकमा सहमति : संसद अवरोध जारी रहने


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ जेष्ठ २०८३
  • 2.3K
    Shares

पोखरा, २५ जेठ २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टीले आव्हान गरेको सर्वदलीय बैठक बिना सहमति सकिएको छ।

उक्त बैठकबाट निस्किएका नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सञ्चारकर्मीहरुसंग सर्वदलीय बैठकमा कुनै सहमति नभएको जानकारी दिंदै नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताए।

बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिए । तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए । 

‘दुई विषयमा घनिभूत छलफल भयो । पहिलो, रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराउनुभयो । त्यसमा हामीले इपीजीको विषयमा प्रश्न उठायौँ । अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभयो । भोलिपल्ट सीमाको विषयमा छलफल भयो कि भएन ? त्यसमा उहाँले केही न केही भन्ने प्रयास गर्नुभयो । तर स्पष्ट जवाफ आएन’, उनले भने । 

यसैगरी संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताए । यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको उनले बताए । 

महरले भने, ‘संसद्को अवरोध गर्ने हाम्रो चाहना होइन । प्रधानमन्त्रीले तुरुन्तै संसदमा आएर जवाफ दिनुपर्छ भन्यौँ । सार्वभौम संसदमा जवाफ दिने विषयमा सभापतिले पार्टीभित्र छलफल गर्छौँ तर अहिले संसदमा जवाफ दिनुहुँदैन भन्नुभयो ।’

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका पार्टी अध्यक्ष वा सभापतिसहित दुई-दुई जनालाई आमन्त्रण गरिएको थियो । तर बैठकमा शीर्ष मानिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भए पनि नेकपा संयोजक प्रचण्ड बैठकमा गएनन् । नेता वर्षमान पुन भने बैठकमा सहभागी थिए ।

नेपाली कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी भए पनि पार्टी सभापति गगन थापा बैठकमा गएनन् ।

नेकपा एमालेका तर्फबाट शीर्ष नेताहरू सहभागी भएनन् । पार्टीका प्रमुख सचेतक ऐनबहादुर महर बैठकमा सहभागी थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने रास्वपाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरे ।

प्रतिक्रिया