पोखरा, २५ जेठ २०८३।
पोखराका विभिन्न रेष्टुरेन्ट, खाजाघर तथा अस्पताल क्यान्टिनमा गरिएको बजार अनुगमनका क्रममा सरसफाइमा गम्भीर लापरबाही, गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग तथा लेभलिङ नभएका वस्तु बिक्री भइरहेको फेला परेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय उपभोक्ता महासंघ कास्की, सञ्चारकर्मी तथा सुरक्षाकर्मी सम्मिलित टोलीले आइतबार पृथ्वीचोकस्थित बसपार्क क्षेत्र र नयाँबजारमा बजार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा गण्डकी मेडिकल कलेज परिसरमा सञ्चालित दुई क्यान्टिनमा प्रयोग भइरहेको १२ लिटर गुणस्तरहीन खाद्य तेल बरामद गरी नष्ट गरिएको छ। साथै लेभलिङ नभएका केही खाद्य सामग्रीसमेत नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
अस्पतालको दक्षिणतर्फ सञ्चालनमा रहेको क्यान्टिनको भान्छा अत्यन्तै अव्यवस्थित र अस्वच्छ भेटिएपछि सरसफाइ सुधार नगरेसम्म सञ्चालन नगर्न क्यान्टिन सञ्चालक काशीराम लामिछानेलाई निर्देशन दिइएको छ।
यता, पृथ्वीचोक बसपार्कको उत्तरी क्षेत्रमा सञ्चालित जैसवाल क्याफेमा कर नतिरेको, भान्छा फोहोर रहेको तथा गुणस्तरहीन तेल प्रयोग गरिएको भेटिएपछि सञ्चालकलाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
त्यसैगरी, फुड साथी प्रालिमा गुणस्तरहीन मेवा, गाजर तथा लेभल नभएका खाद्य सामग्री बिक्रीका लागि राखिएको फेला परेपछि सञ्चालक रामचन्द्र गैरेलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमन टोलीले सिसङ मःमः पसल, सक्षम खाजाघर, म्याग्दी मगरको थकाली खाजाघर तथा मामा भान्जा खाजाघरमा समेत सरसफाइको अवस्था कमजोर रहेको पाएको जनाएको छ। केही पसलमा बिक्रीका लागि राखिएका प्याकिङ गरिएका मःमःमा आवश्यक लेभलिङसमेत नभएको भेटिएको थियो।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य व्यवसायमा लापरबाही गर्ने व्यवसायीमाथि आगामी दिनमा थप कडाइका साथ अनुगमन तथा कारबाही गरिने प्रशासनले जनाएको छ।