न्यायको आशा वोकेर स्वदेश फर्किए धुर्मुस : छोरी र श्रीमती सुन्तली अमेरिकामै

न्यायको आशा वोकेर स्वदेश फर्किए धुर्मुस : छोरी र श्रीमती सुन्तली अमेरिकामै


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ जेष्ठ २०८३
  • 1K
    Shares

न्यायाजो आशा वोकेर स्वदेश फर्किए धुर्मुस

पोखरा , २५ जेठ २०८३।

कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका बसाइपछि नेपाल फर्किएका छन्। आइतबार बिहान उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि फाइल बोकेर उभिएको आफ्नो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै न्याय प्राप्तिको आशासहित स्वदेश फर्किएको बताएका जानकारी दिएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, “न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु। आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।”

सामाजिक अभियन्ताका रूपमा परिचित धुर्मुस केही समयअघि छोरीको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए। अमेरिकी ‘ग्रीनकार्ड’ प्राप्त गरिसकेका उनले गत वर्ष मंसिर २६ गते सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै आफू अमेरिका भागेर गएको भन्ने आरोपको खण्डन गरेका थिए।

त्यतिबेला उनले भरतपुर क्रिकेट रंगशाला परियोजनासँग सम्बन्धित विवाद, निरन्तरको प्रशासनिक झन्झट तथा १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वका कारण आफू मानसिक र आर्थिक दबाबमा परेको उल्लेख गरेका थिए। छोरीको खुट्टाको उपचारलाई प्राथमिकता दिँदै अमेरिका जान बाध्य भएको उनको भनाइ थियो।

हाल उनकी पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ र छोरी अमेरिकामा नै रहेका छन् भने धुर्मुस भने नेपाल फर्किएका छन्। स्वदेश फर्किएसँगै उनले आफूले भोग्दै आएको समस्याको न्यायोचित समाधान खोज्ने संकेत गरेका छन्।

धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत विभिन्न सामाजिक अभियान सञ्चालन गरेर चर्चामा आएका धुर्मुस पछिल्लो समय भरतपुर क्रिकेट रंगशाला निर्माणसँग जोडिएको आर्थिक तथा प्रशासनिक विवादका कारण चर्चा र विवाद दुवैमा रहेका छन्।

कलात्मक क्षेत्रमा पनि सक्रिय रहेका धुर्मुस अभिनित चलचित्र ‘लाज शरणम्’ गत वर्ष प्रदर्शनमा आएको थियो। नेपाल फर्किएपछि उनले आफ्नो सामाजिक तथा व्यक्तिगत यात्रालाई कसरी अघि बढाउँछन् भन्ने विषयलाई धेरैले चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार