बौद्धिक अपाङ्गता भएका यात्रुलाई बेवास्ता गर्ने बस चालकलाई पोखरामा ट्राफिक प्रहरीले गर्यो जरिवाना

बौद्धिक अपाङ्गता भएका यात्रुलाई बेवास्ता गर्ने बस चालकलाई पोखरामा ट्राफिक प्रहरीले गर्यो जरिवाना


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ जेष्ठ २०८३
  • 2.3K
    Shares

पोखरा , २५ जेठ २०८३।

अपाङ्गता भएका यात्रुलाई बेवास्ता गर्ने बस चालकलाई ट्राफिक प्रहरीले पोखरामा जरिवाना तिराएको छ।

पोखरा महानगरपालिका–३२ लेखनाथ क्षेत्रमा एक जना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बेवास्ता गर्ने बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

प्राप्त जानकारी अनुसार , सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न संकेत गरे पनि सवारी साधन नरोकी अघि बढेको देखिएको थियो। उक्त व्यक्तिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित कार्यालयले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीमा पत्राचार गरेको थियो।

अनुसन्धानका क्रममा ग २ ख २२५५ नम्बरको सार्वजनिक यातायातको सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो। ट्राफिक प्रहरीले आवश्यक जरिवाना गरेपछि चालक तथा सम्बन्धित पक्षलाई भविष्यमा फरक क्षमता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने विषयमा सचेत गराएको जनाएको छ। साथै, आगामी दिनमा यस्ता यात्रुप्रति संवेदनशील व्यवहार गर्ने सहमति जनाएपछि चालकलाई सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने सबै चालक तथा सहचालकलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य विशेष सहायता आवश्यक पर्ने यात्रुप्रति मानवीय र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।

प्रतिक्रिया