सुर्यदर्शन सहकारी ठगी प्रकरण : १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गरेपछि महेन्द्र गुरुङ ‘भोटे’ पांच लाख रुपैयाँ धरौटीमा रिहा

सुर्यदर्शन सहकारी ठगी प्रकरण : १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गरेपछि महेन्द्र गुरुङ ‘भोटे’ पांच लाख रुपैयाँ धरौटीमा रिहा


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ जेष्ठ २०८३
  • 1.7K
    Shares

पोखरा, २५ जेठ २०८३।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र गुरुङ ‘भोटे धरौटीमा रिहा भएका छन्।

१७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गरेपछि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलाशले दिएको आदेश बमोजिम उनी पांच लाख रुपैयाँ धरौटी बुझाएपछि रिहाइ पाएका हुन्।

भोटे नेकपा एमालेसँग निकट युवा संगठनका नेता हुन्। उनी पछिल्लो स्थानीय तह निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बने पनि पराजित भएका थिए।

उक्त प्रकरणमा दायर मुद्दामा कुल एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बराबरको बिगो माग गरिएको छ, जसलाई जाहेरवालालाई भराइदिनुपर्ने दाबी गरिएको छ। प्रकरणबारे न्यायिक प्रक्रिया अघि बढिरहेको र बाँकी विषयमा थप कानुनी कारबाही जारी रहने जनाइएको छ।

सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एकअर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको अभियोग छ। सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा १९ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो।

मुद्दामा एकअर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो। उनीसँगै सहकारी ठगीको अभियोगमा कारागारमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पूर्वसदस्य महेन्द्र भोटेलाई जिल्ला अदालत कास्कीले थुनामा पठाएको थियो। उक्त सहकारी ठगीमा फरार मुख्य आरोपी गितेन्द्र बहादुर राई (जीबी) अहिले पनि फरार छन्। सहकारी ठगीको आरोप लागेका रवि लामिछाने अहिले रास्वपा सभापति छन्। जीबीका मुख्य सहयोगी रम्तेल २०८० असोज २१ गतेदेखि जेलमा छन्।

प्रतिक्रिया