पोखरा , २१ जेठ २०८३।
सगरमाथामा ६ दिनदेखि बेपत्ता भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा जिवितै भेटिएका छन्।
उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएको एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिए। ’घिस्रिँदै ओर्लिरहेको अवस्थामा दावा शेर्पा भेटिए, यो आफैंमा आश्चर्यजनक घटना हो,’ निर्देशक पेम्बाले बताए । उनको लामा हिउँका कारण क्षति पुगेको छ र थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका शेर्पालाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधारशिविरतर्फ ओर्लिरहेको अवस्थामा उद्धार गरिएको हो ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि तत्काल उद्धार गरी आधारशिविरतर्फ ल्याएका हुन् ।
बुधबार काठमाडौंस्थित अल्टिच्युड एयरको हेलिकोप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो । हेलिकोप्टरले ५,२०० मिटर उचाइको सगरमाथा आधार शिविरदेखि तेस्रो शिविरभन्दा तलसम्म व्यापक खोजी गरेको थियो । उक्त उद्धार अभियानमा दुई जना सहयोगी पनि संलग्न रहेका थिए । उद्धार टोली अहिले शेर्पा फेला परेको स्थानतर्फ पुगेर उनलाई आधार शिविर हुँदै काठमाडौं पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी विकास राइका अनुसार दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा जेठ १५ शुक्रबार तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएका उनी आबद्ध हिमालयन ट्राभर्स एडभेन्चर प्रालिले जनाएको थियो । यस सिजनमा सगरमाथा र मकालु क्षेत्रमा गरी हालसम्म सात जना आरोही तथा गाइडको मृत्यु भइसकेको बताइएको छ ।
विशेषगरी क्याम्प–३ क्षेत्र सगरमाथा आरोहण मार्गको अत्यन्त जोखिमपूर्ण खण्डमध्ये एक हो । समुद्री सतहबाट करिब ७,२०० मिटर उचाइमा रहेको यस क्षेत्रमा अक्सिजनको मात्रा निकै कम हुने, तापक्रम अत्यधिक न्यून रहने तथा मौसम एकाएक परिवर्तन हुने भएकाले आरोहीहरू उच्च जोखिममा रहने गर्छन् ।
दावा शेर्पा जीवितै फेला परेको खबर सार्वजनिक भएसँगै उनका परिवार, आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले राहतको महसुस गरेका छन् । उनको अवस्थाबारे विभिन्न आशंका व्यक्त भइरहेका बेला जीवितै फेला पर्नु सुखद समाचारका रूपमा लिइएको छ । उद्धारपछि उनको स्वास्थ्य अवस्था परीक्षणको व्यवस्था गरिएको छ ।
अत्यधिक थकान, चिसो र लामो समयको शारीरिक संघर्षका कारण उनी कमजोर देखिए पनि बोल्न सक्ने अवस्थामा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । स्वास्थ्यकर्मीको निगरानीमा राखेर थप उपचार गरिने भएको छ ।
सगरमाथा क्षेत्रमा हरेक वर्ष सयौं स्वदेशी तथा विदेशी पर्वतारोही पुग्ने गर्छन् । तर प्रतिकूल मौसम, हिमपहिरो, अक्सिजनको कमी तथा शारीरिक समस्याका कारण बेला–बेलामा दुर्घटना र बेपत्ता हुने घटना पनि हुने गरेका छन् । यस्ता घटनाबीच दावा शेर्पाको जीवित उद्धारलाई पर्वतारोहण समुदायले आश्चर्यजनक र प्रेरणादायी घटनाका रूपमा लिएको छ ।
खोज तथा उद्धारमा संलग्न टोलीका अनुसार उनलाई फेला पारिएको स्थान आधारशिविरभन्दा माथि भएपनि उनी आफैं आधारशिविरतर्फ ओर्लने प्रयास गरिरहेका थिए । दावा शेर्पाको जीवित उद्धारसँगै सगरमाथा क्षेत्रमा जारी खोज तथा उद्धार अभियानले अर्को सफल परिणाम हासिल गरेको छ । स्थानीयवासी, पर्यटन व्यवसायी तथा पर्वतारोहण क्षेत्रका सरोकारवालाले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।