अस्पतालको स्तरोन्नतिका लागि गल्कोटवासीले जम्मा गरे करीब दुई करोड ८० लाख रुपियाँ चन्दा

अस्पतालको स्तरोन्नतिका लागि गल्कोटवासीले जम्मा गरे करीब दुई करोड ८० लाख रुपियाँ चन्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ जेष्ठ २०८३
  • 1.1K
    Shares

पोखरा, १८ जेठ २०८३।

बागलुङको गलकोटमा नगर अस्पतालको स्तरोन्नति र भवन निर्माणका लागि स्थानीयस्तरबाट करिब रु दुई करोड ७९ लाख ६२ हजार संकलन गरिएको छ। अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो । 

गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट नगरपालिका अस्पतालअघिको जग्गा अस्पतालको नाममा बनाउन स्थानीयले सक्रियता जनाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । 

अभियानमार्फत उठेको रकममध्ये करिब रु दुई करोड जग्गा खरिदमा खर्च गरिएको छ भने रु १९ लाख १० हजार बराबरको एक्स–रे मेशिन पनि खरिद गरिएको छ। हालसम्म कुल रु दुई करोड २१ लाख ७५ हजार खर्च भइसकेको र रु ७२ लाख ८७ हजार बैंक मौज्दात रहेको समितिले जनाएको छ।

गलकोट नगर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालनका लागि जग्गा व्यवस्थापनले सहज भएको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश शर्माले बताउनुभयो ।

अस्पतालसँग जोडिएको झन्डै साढे दुई रोपनी जग्गा अस्पतालकै नाममा ल्याइएपछि थप भवन, आधुनिक उपकरण र विशेषज्ञ सेवा विस्तार गर्न सहज भएको छ। देश तथा विदेशमा रहेका गलकोटवासीको सहयोगमा सञ्चालन गरिएको यो अभियानले अस्पताललाई सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया