जन्मकैद सजाय भोगिरहेकी कैदी दोश्रो पटक पनि केन्द्रीय कारागारबाट भागेपछि कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न

जन्मकैद सजाय भोगिरहेकी कैदी दोश्रो पटक पनि केन्द्रीय कारागारबाट भागेपछि कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ जेष्ठ २०८३
  • 2.1K
    Shares

पोखरा, ३ जेठ २०८३।

देशकै सबैभन्दा सुरक्षित मानिने सुन्धारास्थित केन्द्रीय कारागारबाट जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङ फरार भएपछि कारागार सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।

प्रहरी निगरानी, काँडेतार र उच्च सुरक्षा व्यवस्थाबीच उनी कसरी भाग्न सफल भइन् भन्ने विषय अहिले अनुसन्धान भइरहेको छ ।

२५ वर्षीया सपना तामाङ बालिका हत्या, अपहरण र डाँका/चोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी कैदी हुन् । उनी यसअघि पनि जेलबाट भागेकी थिइन् ।

दोस्रोपटक पनि उनी फरार हुन सफल भएपछि कारागारभित्रको सुरक्षा संयन्त्र र प्रहरी समन्वयमाथि प्रश्न उठ्न थालेको हो ।

शनिबार मध्यरात साढे १ बजे उनी कारागारको पछाडिपट्टिको पर्खाल नाघेर फरार भएको सीसीटीभी फुटेजमा देखिएको कारागार प्रशासनले जनाएको छ । जेलर कृष्ण चापागाईंका अनुसार घटनाले सामान्य लापरबाहीभन्दा योजनाबद्ध तयारीको संकेत गरेको छ ।

‘सीसीटीभी फुटेज हेर्दा लामो समयदेखि योजना बनाएर उपयुक्त अवसर कुरेको देखिन्छ,’ चापागाईंले भने ।

सपना पहिलोपटक २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला भागेकी थिइन् । त्यसको दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गरेको थियो ।

उनी रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी थिइन् । प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछि घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन् ।

रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो ।

प्रहरी अनुसन्धानले सपना किशोर अवस्थादेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखाएको छ । पटक–पटक पक्राउ परे पनि सुधारको मौका दिँदै छाड्ने प्रवृत्तिले अन्ततः गम्भीर अपराधसम्म पुग्न सहयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सुन्धारा कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीका डीएसपी शैलेस न्यौपानेको नेतृत्वमा रहेको थियो । तर, कैदी फरार हुँदासमेत सुरक्षाकर्मी बेखबर देखिएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्तरिक अनुसन्धान थालेको छ ।

एसएसपी प्रवीण धितालका अनुसार सपना कसरी भाग्न सफल भइन् र त्यसमा सुरक्षाकर्मीको कमजोरी थियो वा थिएन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । लोकान्तर

प्रतिक्रिया