पोखरा, ३ जेठ २०८३।
नेकपा एमालेको भात्री संगठन प्रेस चौतारीको केन्द्रीय नेतृत्वमा खैलाबैला मच्चिइरहेका बेला सोही संगठनका कास्की जिल्ला सहसचिव सुरेश सुनारले गएको मध्यराती आफ्नो पदबाट राजिनामा दिएको घोषणा गरेका छन्।
सहसचिव सुनारले गएराती आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै आफुले प्रेस चौतारी छाडेको घोषणा गरेका छन्।
उनले आफ्नो स्टाटसमा “प्रेस चौतारीको पछिल्लो गतिविधि तपाईँहरूलाई थाहै छ होला । पछिल्लो समय संगठनभित्र अपेक्षित रूपमा काम, समन्वय र सक्रियता देखिन सकेको छैन । यस्तो अवस्थामा केवल पदमा बसेर नाम मात्रको जिम्मेवारी लिनुभन्दा कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गरेको छु ।” भनेका छन्।
उनले आफ्नो स्टाटस प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीलाई पनि ट्याग गरेका छन्। तर सुनारको राजिनामा बारे प्रेस चौतारीले आधिकारिक रुपमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

पछिल्लो समय उनी रास्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउदै आएका थिए। उनले प्रेस चौतारी छाडेसंगै अबको आफ्नो यात्रा कता हुने हो भन्ने बारेमा स्पस्ट भने पारेका छैनन्।