पोखरा, १ जेठ २०८३।
श्रीलंकास्थित नेपाली दूतावास स्थापनाका लागि खरिद गरिएको जग्गा दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको खुलासा भएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली राजदुताबासका लागि खरीद गरिएको एक एकड जग्गा १९९४ मे ९ सम्म दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको खुलासा भएको हो।
प्रतिवेदनमा भनिएको छ- ‘यो वर्ष श्रीलंकाको घरजग्गा व्यवस्थापन गर्ने सरकारी निकायमा खोजी गर्दा नेपाल सरकारको नाममा रहेको उक्त जग्गामध्ये एक एकड जग्गा सन् १९९४ मे ९ सम्म दुईपटक निजी व्यक्तिलाई बिक्री भइसकेको विवरण प्राप्त भएको छ ।’
जग्गाको अभिलेख प्रत्येक कार्यालयले सरकारी घर, जग्गाको लगत राख्नुपर्ने पनि महालेखाले भनेको छ ।
श्रीलंकाको कोलम्बोस्थित राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्न सन् १९८९ मे १८ मा अमेरिकी डलर ३ लाख ६० हजारमा १.५ एकड जग्गा खरिद भएको थियो । हाल उक्त जग्गा उपयोगविहीन अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।