पोखरा । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी मितिनी हुन्।
चुनावका बेला पनि यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाएकी होइनन्।
एमालेले पार्टीभित्रै गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस भएकी थिइन्। राष्ट्रपतिसँग मञ्जुले उनकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म गरेकी छैनन्। आफुहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आ-आफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउछिन्।
कसरी गाँसिएको थियो त उनीहरुको सैनी साइनो ?
कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आएका थिए। पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे ।
नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो। ‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बितेको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भने, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्ने खालको हुँदा जोडी मिल्ने देखें।’
सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा जीवनकै ठूलो खुसी मिलेको उनले सुनाए। संयोग कस्तो पनि परेको छ भने उनी यसअघि पोखरा उपमहानगरपालिकाको उपमेयर थिए। छोरी मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी थिइन्। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।