धादिङको बैरेनी दुर्घटना अपडेट : ३४ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं पुर्याइयो

धादिङको बैरेनी दुर्घटना अपडेट : ३४ जना घाइतेलाई थप उपचारका लागि काठमाडौं पुर्याइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ बैशाख २०८३
  • 1.4K
    Shares

पाेखरा, २९ बैशाख २०८३ ।

  धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित पृथ्वी लोकमार्गमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किएर घाइते भएका ३७ जना मध्ये ३४ जनालाई उपचारका लागि काठमाण्डौ पुर्याइएको छ।

गएराति करिब ११:३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१-००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको अर्को बस बा ०१-००६ ख ६७१६ ले समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका ३७ जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको थियो।

प्रहरीका अनुसार ३ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जसमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ भने ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ। तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार थिए।

दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालकहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहट गजुराका २८ वर्षीय प्रमोद चौधरी रहेका छन्।

प्रतिक्रिया