राष्ट्रपति पौडेलले संसदमा नीति-कार्यक्रम प्रस्तुत गरिरहँदा प्रम बालेन शाह बाहिरिए पछि …… ….. . …

राष्ट्रपति पौडेलले संसदमा नीति-कार्यक्रम प्रस्तुत गरिरहँदा प्रम बालेन शाह बाहिरिए पछि …… ….. . …


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ बैशाख २०८३
  • 1.1K
    Shares

पाेखरा, २९ बैशाख २०८३ ।

संसद्को संयुक्त बैठकमा रास्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहंदा प्रधानमन्त्री बालेन्द्र शाह बाहिरिए पछि त्यस बारे टिकाटिप्पणी शुरु भएको छ।

प्रधानमन्त्री शाहको त्यस कार्यलाई कतिपयले संसदीय आचरण विपरीतको गतिबिधि भनिरहेका छन् भने कतिपयले आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रम मन नपरे पछि प्रधानमन्त्री बालेन्द्र संसद भवनबाट बाहिरिएको टिप्पणी पनि गरेका छन्।

आफ्नै विधि र परम्परा अनुरुप चल्दै आएको मर्यादित स्थान संसदमा राष्ट्रप्रमुख आउँदा विशेष सम्मानका साथ ल्याउने र विदाइ गर्ने परम्परा छ। बैठकमा राष्ट्रपतिलाई शुरूमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षले संसदमा स्वागत गर्छन्। सरकारको कार्यक्रम पढेर बाहिरिँदा प्रधानमन्त्रीसहितले राष्ट्रपतिलाई बिदा गर्छन्। 

विगतकै जस्तो परम्परामा राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार पनि संसद्‌मा लगिएको थियो। राष्ट्रपति बसेपछि सरकारको नीति तथा कार्यक्रमको प्रति पुर्‍याउन प्रधानमन्त्री पुगेका थिए।

दुवै सदनको बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढे। राष्ट्रपति पौडेललाई करिब सवा एक घण्टा लाग्यो।  तर त्यो अवधिसम्म प्रधानमन्त्री शाहले कुरेनन्। राष्ट्रप्रमुखलाई धन्यवादसम्म दिएनन्। उनी बिचैमा उठेर हिँडे।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि सभामुख डीपी अर्यालले सम्मानका निम्ति सबै सांसदहरूलाई उभिन निर्देशन दिएका थिए ।

सभामुखको निर्देशन बमोजिम संयुक्त संसदका सांसदहरूले उभिएर राष्ट्रपति पौडेललाई बिदा गरे। सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बाहिरसम्मै निस्किएर राष्ट्रपति पौडेललाई बिदाइ गरे। तर राष्ट्रपतिलाई सबैले उनलाई बिदा गरिरहँदा प्रधानमन्त्री भने थिएनन्।

नेकपा एमालेले प्रधानमन्त्रीको व्यवहार र पोशाकप्रति आपत्ति जनाएको छ। संघीय संसदको संयुक्त बैठकमा सांसद गुरु बराल बरालले राष्ट्रिय पहिचानकालागि प्रधानमन्त्रीले राष्ट्रिय पोशाकको पालना गर्नुपर्ने विषयमा सभामुखको ध्यानाकर्षण गरेका हुन्।

विशेष समय लिएर बोल्दै सांसद बरालले राष्ट्रिय महत्त्वका बैठकहरूमा देशको कार्यकारी प्रमुखले राष्ट्रिय पोशाक लगाउनुपर्नेमा बताए। त्यसैगरी राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीले देखाएको व्यवहारप्रति पनि उनले प्रश्न उठाए। 

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रियामा प्रधानमन्त्रीले सम्बोधनको बीचैमा बाहिरिएर बहिस्कार गरेको भन्दै बरालले यसबाट नीति तथा कार्यक्रमप्रति सरकारको अपनत्वमाथि संशय उत्पन्न भएको बताए। 

‘आज देशले सुशासन र राष्ट्रिय मर्यादासँगै राष्ट्रिय पहिचानको माग गरेको छ। प्रधानमन्त्रीज्यूले संयुक्त सदनको बैठकमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन?’, उनले प्रश्न गरे , ‘हामीले कस्तो थिति बसाल्ने हो? म सभामुख महोदयमार्फत यो विषयमा रुलिङको माग गर्दछु।’

बरालले संसदीय मर्यादाको उल्लंघन भएको दाबी गर्दै बरालले राष्ट्रपतिको सम्बोधन चलिरहेका वेला प्रधानमन्त्रीले करिब १५ मिनेटसम्म संवादमा अल्झिएर बसेको विषयलाई ‘अशोभनीय’ संज्ञा दिए । 

‘बैठकको निश्चित मर्यादा हुन्छ। राष्ट्रपतिको संबोधन भइरहँदा प्रधानमन्त्रीज्यूले संवाद र छलफलमा समय बिताउनु संसदीय मर्यादाविपरित छ’, उनले भने, ‘यस्ता गतिविधि रेकर्डबाट हटाइनुपर्छ ताकि भविष्यका लागि सही नजिर बसोस्।’

सांसद बरालको जिज्ञासा र ध्यानाकर्षणपछि सभामुखले आफ्नो ध्यानाकर्षण भएको जानकारी गराए। उनले यो विषयमा अध्ययन गर्न र सत्यतथ्य बुझ्न संसद सचिवालयलाई निर्देशन दिए।

प्रतिक्रिया