बैतडीमा प्रधानाध्यापकलाई कालोमोसो दल्नेमा रास्वपाको पालिका कमिटी उपसभापति महताका परिवार संलग्न

बैतडीमा प्रधानाध्यापकलाई कालोमोसो दल्नेमा रास्वपाको पालिका कमिटी उपसभापति महताका परिवार संलग्न


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ बैशाख २०८३
  • 855
    Shares

पाेखरा, २६ बैशाख २०८३ ।

बैतडीमा प्रधानाध्यापकलाई कालोमोसो दलेर जुताको माला लगाई सार्वजनिक अपमान गरेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका तहका नेताका परिवारजन संलग्न रहेको खुलेको छ।

पक्राउ परेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका तहका नेता र उनका परिवारका सदस्य रहेको खुलेको छ ।

शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो दलेको आरोपमा पक्राउ परेका चार जना रास्वपाका शिवनाथ गाउँपालिका कमिटी उपसभापति प्रेमसिंह महताका परिवार रहेको पाइए पछि उक्त रहस्य खुलेको हो।

उक्त आरोपमा रास्वपाका शिवनाथ गाउँपालिका कमिटी उपसभापति प्रेमसिंह महता, उनको श्रीमती तारा महता, भाई मोहन महता र भाइबुहारी शकुन्तला महतालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

महताले २०८० सालको वैशाख २५ गते रास्वपाको सदस्यता लिएको पाइएको छ । बीए १ ख ०००००९१०९ सदस्यता नम्बर रहेका महता पार्टीको पालिका कमिटी उपसभापति हुन् ।

प्रहरीका अनुसार प्राथमिक तहको शिक्षक परीक्षामा श्रीमती तारा महता उत्तीर्ण नभएपछि आक्रोशित बनेको महता परिवार विद्यालयमै पुगेर प्रधानाध्यापक ओझामाथि दुर्व्यवहारमा उत्रिएको हो । महताले यसअघि आफ्नी श्रीमतीलाई जसरी पनि उत्तीर्ण गराई शिक्षकमा भर्ना गर्न प्रधानाध्यापकमाथि दबाब दिएको आरोप छ ।

विद्यालयले प्रावि तहको महिला शिक्षक पदका लागि गत चैत २६ गते विज्ञापन गरेको थियो । उक्त पदका लागि १८ जनाले आवेदन दिएका थिए भने वैशाख १३ गते भएको परीक्षामा १४ जना मात्रै सहभागी भएका थिए ।

नतिजा प्रकाशनपछि तारा महता अनुत्तीर्ण भएकी थिइन् । बिहीबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला प्रेम महता श्रीमती, भाइ र बुहारीसहित विद्यालय पुगेका थिए ।

उनीहरूले “एकछिन काम छ” भन्दै प्रधानाध्यापक ओझालाई बाहिर बोलाएका थिए । त्यसपछि कालोमोसो दलेर जुताको माला लगाउनुका साथै “म अपराधी हुँ” लेखिएको पम्प्लेटसमेत घाँटीमा झुन्ड्याइएको थियो ।

घटना देखेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत साउँदलगायतले हस्तक्षेप गरी प्रधानाध्यापकलाई छुटाएका थिए ।

शुक्रबार पक्राउ परेका महता परिवारविरुद्ध किटानी जाहेरी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलदेव बडुले पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । उनका अनुसार प्रधानाध्यापक ओझाबाट किटानी जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अघि बढाइनेछ ।

प्रतिक्रिया