पाेखरा, २५ बैशाख २०८३ ।
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेर बसेका पूर्व माओवादी नेता सुदन किराँतीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बरिष्ठ उपाध्यक्ष बन्न सहमति जनाएका छन्।
किराँती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच गएराती ललितपुरमा भएको वार्तापछि उनी त्यस पार्टीको बरिष्ठ उपाध्यक्ष बन्न सहमत भएका हुन्।
नेता किराँती पक्षलाई एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु दिन पनि श्रम संस्कृत पार्टी सहमत भएको प्राप्त समाचारमा जनाइएको छ। आज उनीहरुले काठमाडौंको बागबजारमा एक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गर्दैछन् ।
भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटनमन्त्री समेत बनेका थिए । तर, जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।