पाेखरा, २४ बैशाख २०८३ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना र निर्माण कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेसमेत १३ जना र निर्माण कम्पनीलाई विपक्षी बनाइएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको पाइएकाले मुद्दा दर्ता गरिको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।
पोखरा विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङबीच भएको खरिद सम्झौतामा ‘कन्ट्र्याक्ट प्राइस’ भित्रै कर, महसूल तथा अन्य शुल्क समावेश गरी त्यस्ता कर, महसूल तथा अन्य शुल्क निर्माण कम्पनीले नै प्रचलित नेपाल कानुन बमोजिम तिर्नु बुझाउनेपर्ने प्रावधान रहेको छ। तर, त्यस विपरीत निर्माण कम्पनीलाई कर, महसूल र तथा अन्य शुल्कमा छुट दिएको पाइएको अख्तियारको आरोपमा पत्रमा उल्लेख छ।
यसरी कर, महसूल र अन्य शुल्कमा छुट दिँदा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ हानीनोक्सानी पु¥याएको अख्तियारको ठहर छ। त्यही रकम बराबरको बिगो दाबी गरी अख्तियारले मुद्दा दायर गरेको हो।
यसमा अख्तियारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थ सचिव शंकरप्रसाद अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेलाई विपक्षी बनाइएको छ।
यस्तै, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र तत्कालीन सहसचिव डण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालनी महानिर्देशक सञ्जीव गौतमलाई विपक्षी बनाइएको छ।
यसैगरी, नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवको आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकार, नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।
अख्तियारले पोखरा विमानस्थल निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ, कम्पनीका अध्यक्ष वाङ बू र प्रोजेक्ट म्यानेजर याङ जिगाङलाई पनि विपक्षी बनाएको छ।
यसअघि गत मंसिर २१ मा अख्तियारले आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको आरोपमा पाँच जना पूर्वमन्त्री र १० जना पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। आर्थिक लागत बढाउन स्वीकृति दिने पूर्व अर्थमन्त्रीदेखि चिनियाँ कम्पनी र उक्त कम्पनीका दुई कर्मचारीलाई पनि प्रतिवादी बनाइएको थियो।
विमानस्थल निर्माणको स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा अस्वाभाविक रुपमा मूल्य बढाई संशोधन गरेको पाइएको अख्तियारको दाबी थियो। संशोधन गरेर २४ करोड ४० लाख ४० हजार ४५० रुपैयाँ अमेरिकी डलर कायम गरिएको थियो।
लागत बढाएर भ्रष्टाचार गरेको अख्तियारको ठहर थियो। यसरी बढाएको लागतको औचित्य पुष्टि नहुने भन्दै अख्तियारले ५५ जना विरुद्ध मुद्दा दायर गरेको थियो। त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ। अहिले फेरि अर्को मुद्दा दायर गरेको हो।