पोखरा, २४ बैशाख २०८३ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड कर्ण नोटिस जारी गर्न अस्वीकार गरेको छ ।
हङकङमा रहेका देउवा दम्पतीमाथि हाल सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो ।
तर अहिले देउवा दम्पतीविरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको हो ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि इन्टरपोलले थप कागजात माग गरेको छ ।
गत चैत २४ गते देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबी काठमाडौं (नेसनल सेन्ट्रल ब्युरो)ले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा गएको फागुन १४ गते देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू चैत ७ गते हङकङ गएको बताइएको छ ।
यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए ।
अहिले भने फागुन १४ गते देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेको बताइन्छ ।
रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने छ ।
पक्राउ पुर्जी जारी भएपछि एक वक्तव्य जारी गर्दै देउवाले आफू खुला किताब रहेको बताएका थिए । सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा रहेको र आफ्नो सम्पत्तिको विवरण सार्वजनिक पदमा रहँदा सरकारी निकायमा पेस गरेको उनले बताएका थिए ।
शेरबहादुर देउवाका नातेदार प्रदीप शमशेर जबरा, भूषण राणा, जयवीर देउवा लगायतको कारोबारबारे समेत अनुसन्धान भइरहेको छ ।
यसअघि देउवा पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि जोडिएको आरोप लागेको थियो ।
शेरबहादुर देउवा परिवारले बुढानीलकण्ठमा एउटा कम्पाउन्डभित्र दुई वटा घर बनाएका थिए । जेनजी आन्दोलनका क्रममा उनीहरू त्यही घरमा थिए । त्यतिबेला देउवा दम्पतीमाथि आक्रमणसमेत भयो भने घरमा आगजनी भएको थियो ।
यसअघि गत २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा देउवा निवास बुढानीलकण्ठमा जलेका नोटहरू भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटको भिडियोसमेत सार्वजनिक भएको थियो ।
त्यसपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले यसको मुचुल्कासमेत उठाएर अनुसन्धान अघि बढाएको थियो ।