पोखरा, २२ बैशाख २०८३।
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छाकी पत्नी सीमा गोल्छाद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
अदालतले यदि धरौटी वा जमानतमा छाड्न नसकिने अवस्था भएमा मात्र थुनामा राख्न भन्दै अन्यथा उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको छ। आदेशमा भनिएको छ, ‘सो कानूनी व्यवस्थाअनुसार यी निवेदकसँग प्रत्यर्थी अनुसन्धान अधिकारीले धरौट वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राखे गरी भएको २०८३/१/११ र २०८३/१/२१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।’
यसअघि, नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई गत वैशाख ११ गते पक्राउ गरेको थियो।
आदेशमा गोल्छाले धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान गर्न भनिएको छ।