धामीले दिएको जडिबुटीजन्य औषधि खाँदा ओखलढुंगाका युवाको मृत्यु

धामीले दिएको जडिबुटीजन्य औषधि खाँदा ओखलढुंगाका युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ बैशाख २०८३
  • 969
    Shares

पोखरा, २१ बैशाख २०८३।

झारफुक गर्ने धामीले दिएको जडिबुटीजन्य औषधि खाँदा ओखलढुंगाका एक युवाको मृत्यु भएको छ।
धामीले दिएको जडिबुटीजन्य औषधि खाँदा ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर २ को ठूलाछापका २९ वर्षीय दिवस बुढाथोकीको मृत्यु भएको हो ।

ओखलढुंगाखबर डट कमले लेखेको समाचार अनुसार ,
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित तेजविनायक चोकमा बस्दै आएका बुढाथोकीले आफुमा गएको शनिबार पेट दुख्ने समस्या देखिएपछि स्थानीय धामीकोमा पुगेका थिए। त्यहाँ धामीले दिएको ‘जडीबुटीजन्य विखमा औषधि’ सेवन गरेलगत्तै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

वैशाख २३ गते मलेसिया जाने तयारीमा रहेका दिवसलाई वैशाख १९ गते शनिबार पेट दुख्ने समस्या देखिएको थियो । सोही क्रममा ‘खाना रुच्ने र पेट निको हुने’ भन्दै धामीले दिएको घोटेर खाने औषधि सेवन गरेलगत्तै उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । औषधि खाएपछि जिब्रो लाटो भएको र बान्ता तथा पखाला लागेर अवस्था बिग्रेपछि उनलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । शव पोस्टमार्टम गरिसकेपछि परिवारले बुझिसकेका छन् ।
प्रहरीले औषधि खुवाउने धामीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको आफन्तले जानकारी दिएका छन्। तर प्रहरीले यस बारेमा आधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक गरेको छैन। तर आफन्तले औषधि दिने धामीलाई किटानी जाहेरी दिएको वडाध्यक्ष वसन्त कट्वालले जानकारी दिए ।

मृतकका आफन्त कपिल बोगटीले दिएको जानकारीअनुसार औषधि खुवाउने धामी र घटनाको प्रकृति शंकास्पद रहेको छ । “विदेश जान सबै तयारी पुरा भइसकेको अवस्थामा धामीको औषधि खाएकै कारण भिनाजुको ज्यान गयो, हामीलाई न्याय चाहियो,” बोगटीले बताए । हाल मृतकको २९ वर्षीय दिवसका ७ वर्षीय छोरा र श्रीमती छन् ।

प्रतिक्रिया