पोखरा, १९ बैशाख २०८३।
जिल्ला प्रहरी कार्यालय सल्यानभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम भेटिएको छ ।
भवन निर्माणका लागि जग खन्ने क्रममा बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा ठूलो परिमाणमा बम भेटिएको हो ।
उत्खनन् गर्दा शनिबार बिहान ११:२० बजेसम्मकाे समयमा कूल ८६ वटा बम फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । प्रहरीका अनुसार ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले उत्खननकै क्रममा रेडियो वेभ उपकरण ७ थान, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ केजी बम बनाउन प्रयोग हुने सामग्री र १० मिटर फायरिङ केबल समेत भेटिएको जानकारी दिए ।
घटना सार्वजनिक भएपछि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन् । प्रारम्भिक चरणमा प्रहरी टोली खटिएपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको थियो । उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा सेना टोली घटनास्थल पुगेको थियो ।
पछि थप उत्खननका क्रममा थप १० वटा सकेट बम भेटिएपछि बम निष्क्रिय पार्न विशेष टोली झिकाइएको छ। दाङस्थित नं. १९ बाहिनीबाट बम डिस्पोजल टोली बोलाइएको र शनिबार बिहानदेखि विभिन्न गणका इन्जिनियर टोली घटनास्थलमा खटिएका छन् ।
हाल फेला परेका सबै विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।