पोखरा , १८ बैशाख २०८३।`
नेपाली कांग्रेसको बिशेष महाधिबेशन भए पछि उक्त पार्टी तीन समूहमा विभाजित भएको जस्तो देखिएको छ।
बिशेष महाधिबेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्बोच्च अदालतले मान्यता दिए पछि उक्त समूह निर्वाचन आयोगमा आधिकारिक रुपमा दर्ता भएको छ र थापा नेतृत्वको यस समूह नियमित महाधिबेशन गर्न लागि परिरहेको छ। उक्त आधिकारिक समूहले पार्टी सदस्यतालाई नवीकरण गर्ने र अधिबेशन-भेला गर्ने कामलाई तीब्रता दिईरहेको छ। त्यति मात्र हैन, यस समूहले पार्टीका कार्यकर्ताहरुको घर – घरमा पुग्ने गरी जरा अभियान संचालन गरिरहेको छ।
पार्टीको बिशेष महाधिबेशनलाई अस्वीकार गरेको नेपाली कांग्रेसको पूर्णबहादुर खड्का नेतृत्वको देउबा समूह र शेखर कोइराला नेतृत्वको कोइराला समूह एक भएर अदालत गएका थिए। उनीहरुले एकजुट भएर बिशेष महाधिबेशनको बिरोध पनि गरेका थिए। तर अहिले आएर ती दुवै समूहले आ – आफ्ना गतिविधिहरु संचालन गर्न शुरु गरेका छन्। बिशेष महाधिबेशनको निर्णयलाई अस्वीकार गरेका दुवै समुह त्यही बिशेष महाधिबेशनका कारण नेपाली कांग्रेस कमजोर बनेको निष्कर्षमा पुगेका छन्।
खड्काको अगुवाइमा वैशाख १५ र १६ गते सम्पन्न भेलामा १४ औं महाधिवेशनमा निर्वाचित भएका पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र क्षेत्रीय सभापतिहरू लगायत सहभागी थिए। त्यहाँ कोइराला समूहका नेताहरु सहभागी थिएनन्। कोइरालाले बिहीबार छुट्टै भेला आयोजना गरे। तर, खड्का समूहको दुई दिने भेला र कोइराला समूहको निष्कर्ष भने एउटै छ।
विशेष महाधिवेशन राष्ट्रिय राजनीतिलाई धमिल्याउने र कांग्रेसलाई कमजोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुगेको खड्का समूहको बैठकको निष्कर्ष छ। यस्तै कोइराला समूहले पनि विशेष महाधिवेशनले पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेको छ।
बिहीबार विहान बालुवाटारस्थित ओपेरा होटलमा भएको बागमती प्रदेशस्तरीय भेलाबाट कोइराला समूहले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको ठहर गरेका छ। यस्तै कांग्रेसले शुरु गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई गलत र बदनीयतपूर्ण भएको खड्का समूहको निष्कर्ष छ।
खड्का समूहले क्रियाशील सदस्यता अद्यावधिक नगर्न र नगराउन पार्टीका सबै तहका जिम्मेवार पदाधिकारीमा अपील पनि गरेको छ। कोइराला समूहको छलफलमा पनि सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशिल सदस्यता नविकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने धारणा राखेका छन्।
अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरुको तर्क छ। खड्का समूहका छलफलमा सहभागी नेताहरु शशांक कोइराला, सुजाता कोइराला, एनपी साउद, शिव हुमागाईँ, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, निलकाजी शाक्य लगायतका कोइराला समूहको भेलामा पनि पुगेका थिए।
नेपाली कांग्रेस सुदूरपश्चिमका देउवापक्षीय नेताहरूको काठमाडौँको एक होटलमा आयोजित भेलाले सुदूरपश्चिम प्रदेशमा क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेको छ । केही समयअघि मात्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेको र पार्टी लेबी पनि बुझाइसकेकाले अब सदस्यता अद्यावधिक नगर्ने निर्णय भएको एक नेताले बताए ।
भेलामा कांग्रेस सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायर, अघिल्लो महाधिवेशनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित रमेश लेखक, नैनसिंह महर, डा. रणबहादुर रावल, नृप वड, सुशीला मिश्र भट्ट, गोविन्दबहादुर शाह र विद्या तिमल्सिना सहभागी थिए ।
यस्तै पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, कञ्चनपुर कांग्रेसका जिल्ला सभापति पदम बोगटी, कैलाली कांग्रेसका जिल्ला सभापति नारायण भट्ट, डोटी कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउँद र बझाङ जिल्ला सभापति खडक बोहरा पनि भेलामा सहभागी थिए।
त्यसैगरी पूर्व सांसद अक्कल विष्ट, बाजुरा कांग्रेसका पूर्व जिल्ला सभापति कविराज पण्डित, कञ्चनपुर कांग्रेसका जिल्ला उपसभापति मीनबहादुर सिंह, महासमिति सदस्यहरू डा. उत्तरबहादुर ऐर, पुष्पकुमार शाही, गणेश विष्ट, नेपाल विद्यार्थी संघ सुदूरपश्चिमका अध्यक्ष कपिल केसी, नेविसंघका केन्द्रीय सदस्य रमेश कुँवरलगायतका नेताहरू पनि सहभागी थिए ।