पोखरा , १५ बैशाख २०८३।
नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले पत्रकार बस्नेतलाई ०८१ साल र पत्रकार बराललाई २०८२ सालको उक्त सम्मानबाट सम्मान गर्ने निर्णय गरेको हो।
पुरस्कारको राशि एकलाख एकहजार एकसय ११ रुपैंयाँ, दोसल्ला र सम्मान पत्रबाट सम्मन गरिने उक्त सम्मान आगामी वैशाख २२ गते पोखरामा एक समारोहका बीच प्रदान गरिने पत्रकार महासंघ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए ।
प्रतिभा छनोट समितिमा पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य थिए ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर २ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत बस्नेतले राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरेका थिए ।
पोखरा ७ नुवारथोकमा जन्मिएका बराल २०५५ सालदेखि पत्रकारिमा सक्रिय छन् । बराल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत छन् । बरालले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्स पनि काम गरेका थिए ।