पोखरा, १५ बैशाख २०८३।
सिन्धुपाल्चोकस्थित इन्द्रावती खोलामा नुहाउने क्रममा बगेका दुई किशोरीमध्ये एक जनाको शव भेटिएको छ भने अर्की अझै बेपत्ता छिन्।
जिल्लाको मेलम्ची गाउँपालिका–११ स्थित इन्द्रावती खोलामा नुहाउने क्रममा बगेका दुई किशोरीमध्ये मेलम्ची–९ की १८ वर्षीया छोरी निर्जला गिरी करिब एक किलोमिटर तल खोलाको किनारमा मृत भेटिएकी हुन् भने पाँचपोखरी थाङपाल गाउँपालिका–६ की १४ वर्षीया छोरी अन्जिता जोती भने अझै बेपत्ता छिन्।
उनीहरुलाई सोमबार अपराह्न करिब ४ः२० बजेतिरको समयमा खोलामा नुहाउँदै गर्दा गरेका अचानक खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । मृत भेटिएकी निर्जला मामाको छोरी हुन् भने बेपत्ता अन्जिता फूपूको छोरी हुन्। काठमाडौँमा नै बसेर पढ्दै आएका उनीहरु नागरिकता बनाउनको लागि सिन्धुपाल्चोक गएका थिए।
प्रहरीले मृत फेला पारेको भनिएकी निर्जला गिरीको शबलाई आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेलम्ची नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। खोलामा बेपत्ता अन्जिता जोतीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा किशोरीहरूलाई बचाउने प्रयास गर्ने चितवन घर भई हाल काठमाडौँ तार्केश्वर–४ बस्दै आएका ४९ वर्षीय वीरबहादुर राई पनि खोलामा डुबेर बिरामी भएका छन्। उनलाई मेलम्ची नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
बेपत्ता किशोरीको खोजीका लागि मंगलबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालित भई खोज तथा उद्धार कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।