रास्वपा सांसद भुषालद्वारा आफुले सिफारिश गरेका व्यक्तिलाई मात्र सहयोग गर्न पर्बतका हाकिमहरुलाई लिखित उर्दी जारी

रास्वपा सांसद भुषालद्वारा आफुले सिफारिश गरेका व्यक्तिलाई मात्र सहयोग गर्न पर्बतका हाकिमहरुलाई लिखित उर्दी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा , १३ बैशाख २०८३।

पर्वतबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर भुसालले आफ्नो सचिवालयलाई सहयोग पुर्‍याउन भन्दै जिल्लाका सरकारी कार्यालय प्रमुखहरूलाई पत्र लेखेर उर्दी जारी गरेका छन्।

सांसद भुषालले जिल्ला प्रशासन कार्यालयसहित पर्वतका सबै सरकारी निकायलाई बोधार्थ दिँदै गएको बैशाख ८ गते आफ्नै हस्ताक्षरमा लेखेको उक्त पत्रमा आफ्नो सचिवालयमार्फत कार्य सञ्चालनमा सहयोग गर्न उर्दी जारी गरेका हुन्।

पत्रमा उनले ‘सम्पूर्ण पालिका तथा कार्यालयहरू’लाई जिल्ला प्रशासन कार्यालयको मातहतमा रहेको उल्लेख गरेका छन्, जसलाई प्रशासनिक संरचनाको दृष्टिले त्रुटिपूर्ण भनिएको छ। स्थानीय तह संवैधानिक रूपमा स्वायत्त निकाय भएकाले जिल्ला प्रशासनको मातहतमा नपर्ने जानकारहरूको धारणा छ।

सांसद भुसालले उक्त पत्रमार्फत आफ्नो सचिवालयमा १३ सदस्य चयन गरिएको जानकारी गराएका छन्। ती सदस्यहरूमा चुडामणी खनाल, दिनेश थापा, अशोक भुर्तेल, इन्द्र जिसी, नवराज केसी, नारायण भुसाल, घैलेन्द्र केसी, गंगालाल रिमाल, गरुदत्त सुवेदी (नविन), रमेश कुमार श्रेष्ठ, राजु प्रसाद शर्मा, लेखनाथ रिजाल र केशव लामिछाने रहेका छन्।

स्रोतका अनुसार, उनले कार्यालय प्रमुखहरूलाई बोलाएर बैठकसमेत गर्दै आफ्नो पार्टीलाई अपेक्षित महत्त्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए र सचिवालयमार्फत समन्वय गर्न आग्रह गरेका थिए।

यस विषयमा प्रतिक्रिया दिँदै सांसद भुसालले सचिवालय पुनर्संरचना गर्ने संकेत दिएका छन्। उनले समावेशिता सुनिश्चित गर्न दुई महिला सदस्य थप्ने र केहीलाई पुरानै जिम्मेवारीमा फर्काउने बताएका छन्।

कार्यालय प्रमुखलाई पत्र लेख्नुको कारणबारे उनले पार्टी गतिविधिलाई चलायमान बनाउन र स्थानीय तहमा समस्या परे सहयोग पुर्‍याउन सहज बनाउने उद्देश्य रहेको स्पष्ट पारेका छन्। साथै, सचिवालय सदस्यहरू तलबी नभएको पनि उनले बताएका छन्।

प्रतिक्रिया