पोखरा , १२ बैशाख २०८३।
काठमाण्डौको थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरेर त्यहाँ सक्रिय भएका डोजरहरु गैरीगाउँस्थित सुकुम्बासी बस्तीतिर लागेका छन्।
थापाथलीस्थित बागमती नदी किनारामा रहेको बस्तीमा बसोबास गर्नेहरूले धेरैजसो आफैँले कोठा खोजेर सरेका छन् भने केहि आफन्तकोमा गएका छन् । तर आफू घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ ।
बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेको जनाएको छ ।
सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प गराउनेछ । तर त्यसभन्दा अगाडी रङ्गशालामा स्क्रिनिङका लागि लगेको हो ।
यसैबीच उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्की सहितको टोली सुकुम्बासीको सुरक्षा अवस्था बुझ्न फिल्डमा पुगेका छन्।
काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की, डिआईजी ओम अधिकारी, सशस्त्र प्रहरी बलका डिआइजी सुरेश श्रेष्ठ लगायतका सुरक्षा टोलीहरू थापाथली स्थित सुकुम्बासी बस्तीमा पुगेर त्यहाँको अवस्थाबारे निरीक्षण गरेका छन् ।




