पोखराम ८ बैशाख २०८३।
सिरहा कारागारमा फेरि एक पटक विवाद र तनाव उत्पन्न भएको छ। केही कैदीले कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेपछि सिरहा कारागारमा फेरि विवाद र तनाव उत्पन्न भएको हो ।
प्रहरीका अनुसार , दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन खोजेका थिए। आज पनि केही कैदीले त्यस्तै गतिबिधि दोहोर्याएपछि प्रहरीले २३ जना कैदीलाई आफ्नो नियन्त्रणमा लिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
थप झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने आङ्कलन गर्दै २३ जनालाई नियन्त्रणमा लिई हाल प्रहरी हिरासतमा राखिएको प्रजिअ पौडेलले बताए । नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अन्य कारागारमा स्थानान्तरण गरिने उनले स्पस्ट पारे।
सिरहा कारागारमा यसअघि पनि पटक–पटक गुटबन्दी, कुटपिट तथा आन्तरिक झडपका घटना हुँदै आएका छन्। व्यवस्थापनमा कमजोरी तथा सुरक्षाकर्मीको मिलेमतोको आरोपले कारागार बारम्बार तनावग्रस्त बन्ने गरेको छ।
यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो। उक्त हतियार कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीको दाबी छ। सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो।
इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीहरूले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए। पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा, व्यवस्थापन र अनुशासनमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा २२ कैदी पक्राउ।
चौकीदारलाई जबरजस्ती निकाल्ने र झडपको सम्भावना बढेपछि प्रहरीको हस्तक्षेप।
अघिल्लो विवादहरूजस्तै गुटबन्दी र कमजोर व्यवस्थापनले समस्या पुनः उब्जियो।