गण्डकी प्रदेश सरकार पुनर्गठनसंगै नेपाली कांग्रेसभित्र बढ्यो असन्तुष्टि : सांसद कुँवरले दिए राजिनामा

गण्डकी प्रदेश सरकार पुनर्गठनसंगै नेपाली कांग्रेसभित्र बढ्यो असन्तुष्टि : सांसद कुँवरले दिए राजिनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ बैशाख २०८३
  • 2.6K
    Shares

पोखरा ,२ बैशाख २०८३।

गण्डकी प्रदेश सरकार पुनर्गठनसंगै नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। प्रदेश सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउदै नेपाली कांग्रेसका तर्फबाट सांसद द्रोणकुमार कुँवरले आफ्नो पदबाट राजिनामा दिएका छन्।

आफुलाई मन्त्री नबनाएको भन्दै बागलुङबाट निर्वाचित नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुवरले पदबाट राजीनामा दिएका प्राप्त समाचारमा जनाइएको छ। 

प्रदेश सांसद द्रोणकुमार कुँवरले दिएको राजिनामा पत्र

उनले बुधबार सभामुख कृष्णप्रसाद धितालसमक्ष बुझाएको राजीनामा पत्रमा राजिनामा दिनुको कारण भने खुलाएका छैनन्। उनले सोहि राजिनामा पत्रमार्फत आफूलाई जिताउने मतदातालाई धन्यवाद पनि दिएका छन्। 

कुवर कांग्रेसमा सभापति गगन थापा पक्षधर नेताको रुपमा चिनिन्छन्। सधैँ गगनको साथ रहँदै आएका उनले मन्त्रिपरिषद् पुनर्गठन हुँदा सरकारमा जाने चाहना राखेका थिए। तर, कांग्रेसका बागलुङ सभापति जित शेरचन छनोट परे। शेरचनलाई आर्थिक मामिला मन्त्रालयका जिम्मेवारी दिइएको छ। 

पुनर्गठित गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र रेखा गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन् ।

त्यस्तै, एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

उनीहरुलाई आजै एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए ।

प्रतिक्रिया