ट्रम्पको धम्कीबीच अहवाज पुलमा इरानीहरूले फहराए राष्ट्रिय झण्डा

ट्रम्पको धम्कीबीच अहवाज पुलमा इरानीहरूले फहराए राष्ट्रिय झण्डा


  • एजेन्सीहरु
  • बुधबार, २५ चैत्र २०८२
  • 3.5K
    Shares

पोखरा , २५ चैत २०८२।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सभ्यता समाप्त पार्ने चेतावनी दिएपछि इरानभर लाखौँ नागरिक सडकमा उत्रिएका छन्। विभिन्न शहरमा अत्यावश्यक भौतिक तथा ऊर्जा संरचनाको सुरक्षा गर्न नागरिकहरूले मानव साङ्लो बनाउँदै प्रदर्शन गरेका हुन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मार्फत मंगलबार राति ८ बजे (नेपाली समयअनुसार बुधबार बिहान) इरानका महत्वपूर्ण संरचनामाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। उनले “आज राति पुरै सभ्यता समाप्त हुनेछ, जुन फेरि कहिल्यै फर्काएर ल्याउन सकिँदैन” भन्ने अभिव्यक्ति दिएका थिए।

यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले देशभरका नागरिकलाई भौतिक तथा ऊर्जा संरचनाको सुरक्षा गर्न सडकमा उत्रिन आह्वान गरेका थिए। उनले कलाकार, खेलाडी, विद्यार्थी लगायत सम्पूर्ण नागरिकलाई राष्ट्रिय सुरक्षामा सहभागी हुन आग्रह गरेका थिए।

विदेशमन्त्रीको आह्वानपछि विभिन्न स्थानमा नागरिकहरूले मानव साङ्लो बनाएर विद्युत् केन्द्र, पुल र अन्य महत्वपूर्ण पूर्वाधारलाई घेरेका छन्। यसलाई अमेरिकी धम्कीविरुद्धको जनस्तरीय प्रतिवादका रूपमा हेरिएको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच इरानमा देखिएको यस्तो जनआन्दोलनले परिस्थितिलाई अझ संवेदनशील बनाएको छ।

प्रतिक्रिया