पूर्व मन्त्री दीपक खड्का पक्राउ

पूर्व मन्त्री दीपक खड्का पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ चैत्र २०८२
  • 2.4K
    Shares

नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज बिहानै पक्राउ गरेको छ।

गएको जेन जी आन्दोलनका क्रममा भदौ २४ गते खड्काको निवासबाट बरामद भएको रकमको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिएका छन्।

यता, सीआईबीले भने उक्त रकमबारे नबताई सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताएको छ ।

काठमाण्डौको बूढानीलकण्ठ बस्दै आएका खड्काको घर जेनजी आन्दोलनको क्रममा जलेको थियो । उक्त घरमा रकम भेटिएको भन्दै पैसा उडेको भिडियोसमेत सार्वजनिक भएको थियो ।

जेनजी आन्दोलनमा घर जलेपछि पछिल्लो समय उनी भने काठमाण्डौको धुम्बाराहीस्थित प्रेस्टिज अपार्टमेन्टमा बस्दै आएका थिए । सीआईबीले त्यही अपार्टमेन्टबाट उनलाई पक्राउ गरेको हो । ‘

सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थपका लागि खड्कालाई आजै अदालत लगिने प्रहरीले बताएको छ ।

खड्का लैनचौरस्थित स्काउटका जग्गा विवादमा समेत मुछिएका छन् । नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको लैनचौरस्थित जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको तर भाडा नतिरेको भनेर विवादमा परेका थिए ।

नेपाल स्काउटले खड्काले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा जमिन हडपेको भन्दै त्यो खाली गराउन र ५ करोड ४१ लाख रुपैयाँ भाडा उठाइदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिसँग सहयोग माग गरेको थियो ।

गत २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद सकिएकै दिन काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको निर्देशनमा महानगरपालिकाले डोजर लगाएर त्यहाँका संरचना भत्काएको थियो ।

दीपक खड्का २०७९ सालमा संखुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

प्रतिक्रिया