पोखरा, १० फागुन २०८२ ।
आयोजक सहारा क्लब पोखराले २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जित्न सफल भएको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक सहारा क्लब पोखरा दोस्रोपल्ट उपाधि जित्न सफल भएको हो ।
२०७० सालमा भएको १२ औं संस्करणमा मनाङलाई हराउँदै पहिलोपल्ट उपाधि जितेको आयोजक सहारा क्लब पोखराले २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जित्न सफल भएको हो।
उल्लेख्य दर्शकमाझ शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनलमा प्रतियोगिताको आयोजक सहाराका लागि मुकुन्दकुमार न्यूरे र टेई डेनियल बडरूले एकएक गोलको योगदान दिएका थिए। खेलको २५ औं मिनेटमा न्यूरेले सुशील लामाको कर्नर पासमा उत्कृष्ट गोल गर्न सफल भए । पहिलो हाफ एक शून्यमा सकिएकोमा खेलको ७३ औं मिनेटमा सहाराका लागि टेई डेनियल बडरूले सुशील लामाकै पासमा दोश्रो गोल गरेका थिए ।
२५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको आयोजक सहारा क्लब पोखराले नगद १४ लाख रुपियाँ हात पारेको छ भने १४ वर्षपछि फाइनल खेलेको जावलाखेल उपविजेतामा सीमित हुँदै नगद सात लाख प्राप्त गरेको छ ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्षहरु, सहारा यूके, हङकङ, अष्ट्रेलिया, तमु धिं यूकेका प्रतिनिधिहरुले पुरस्कार प्रदान गरेका थिए ।
माघ २७ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रतियोगितामा ‘ए’ डिभिजन लिगका ७, विदेशी ३ र आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता थियो । विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब र प्लानिङ व्वाइज युनाइटेड सहभागी थिए । यस्तै, उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गार्खा फुटबल क्लब र भारतको थन्डरबोल्ट नर्थ युनाइटेड पनि प्रतियोगितामा सहभागी भएको थियो ।
विधागतमा सहारा हाबी
प्रतियोगिताको विधागत पुरस्कारमा सहाराको वर्चस्व रहेको छ । सहाराका मुकुन्दकुमार निउरेले सर्वोत्कृष्ट खेलाडीसँगै उदयीमानको पुरस्कार हात पारे । सर्वोत्कृष्ट भएका निउरेले टेल्जीको स्कुटर प्राप्त गरे । भने, उदयीमान खेलाडी बन्दै थप २५ हजार रुपैयाँ पनि पाए ।
सहाराका टिकेन्द्र थापा उत्कृष्ट गोलरक्षक र ताय डानियल बाडारु उत्कृष्ट डिफेन्डर चुनिए । सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा ओबिउ केबे, स्ट्राईकर जावलाखेल युथका देबेन्द्र कुँवर, मिडफिल्ड जावलाखेलकै बाउबकर सिसिको भए । फेयर प्ले आभा फुटबल क्लब उज्वेकिस्तान घोषित भए । उत्कृष्ट खेलाडी र अनुशासित टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।