पोखरा, ९ फागुन २०८२ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता राजकाजी गुरुङ ‘करण’ यतिबेला जसै गरी प्रतिनिधिसभा सदस्य बन्न लागि परिरहेका छन्। कास्कीको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका गुरुङ आफ्नो पक्षमा चुनाबी माहोल बनाउन मतदाताको घरदेको पुगिरहेका छन्।

अधिक गुरुङ बस्ति रहेको कास्की निर्वाचन क्षेत्र नम्बर १ मा अन्य ठुला राजनीतिक दलहरुले गुरुङ जातिको उम्मेदवार नबनाएकाकारण उनी निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा बढी आशाबादी छन्। ठुला पार्टी भनिएका राजनीतिक दलहरुमा पार्टीभित्र आन्तरिक लाइन संघर्ष चर्को रहेको तथा नयाँ शक्तिको रुपमा आएको राजनीतिक पार्टीको सांगठनिक आधार नभएकाकारण पनि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी गुरुङ ‘करण’ अलि बढी उत्साहित छन्। जनताको पक्षमा लडेको भनिएको १० वर्षीय जनयुद्धको क्रममा अधिकांश समय त्यही क्षेत्रमा बसेर जनयुद्धको नेतृत्व गरेका नेता गुरुङका लागि अहिले जारी रहेको चुनाब प्रचार प्रसार कार्यक्रम बिगतका दिनहरुलाई ताजगीकरण गराइरहेको छ। यसैकारण पनि आफू चुनाब जित्नेमा उनी ढुक्क जस्तै देखिएका छन्। त्यसमा पनि बिगतको तुलनामा अहिले उक्त निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको सांगठानिक अवस्था सुदृढ र सवाल देखेकाकारण उनी आफैले त्यस क्षेत्रमा चुनाब लड्नका लागि तयार भएका हुन्।
हिजो आज उनी आफ्ना मतदाताको घर-घर र टोल – टोलमा पुगेर आफ्ना कार्यक्रमहरु अघि सार्दै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् पनि। संविधान निर्माणका क्रममा महत्वपूर्ण भूमिका खेलेका नेता गुरुङले मतदातालाई विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
घरदैलो कार्यक्रममा मतदाताले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरिरहेका छन्। उम्मेदवार राजकाजि गुरुङले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राख्दै जनताका न्यूनतम आवश्यकतामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।