पोखरा, २९ माघ २०८२।
रामेछाप बस दुर्घटनामा मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरी चर्काे विरोध जनाएका छन् ।
आज अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा पनि क्षतिपूर्तिको विषयमा सहमति नजुटेपछि पीडितको आक्रोश झन् बढेको हो । प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष भेटेर आफ्ना पीडा र माग राख्नु पर्ने भन्दै केही पीडित तथा आफन्तले प्रहरीको घेरा तोडेर जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेका छन् ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयको मुख्य गेट तोडेर भित्र प्रवेश गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
प्रहरीको बल प्रयोगपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् । उनीहरूले आफ्ना जायज मागको सम्बोधन गर्नुको सट्टा प्रशासनले बल प्रयोग गरेको भन्दै बिरोध गरेका छन् ।
जिल्ला प्रशासनमा सहमति हुन नसकेपछि मृतकका आफन्तले आज बिहानदेखि मन्थली नगरपालिका–६ स्थित आकाशे, भैंसेश्वर क्षेत्र हुँदै मन्थली–खुर्कोट सडक अवरुद्ध गरेका छन् । दुर्घटनामा संलग्न सवारीसाधन धनी तथा यातायात समिति सम्पर्कमा नआएको भन्दै आफन्तले सडक बन्द गरेका हुन् ।
हिजो बिहान करिब १०ः ४० बजे काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल राजमार्ग हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको(पूर्व अरनिको यातायात प्रालि) यात्रुवाहक बस मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक अनियन्त्रित भई सडकबाट खसेर तामाकोशी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।
यसैगरी चालकसहित ८ जना घाइते भएका थिए । मृतकका परिवारले प्रति मृतक २५ लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको सम्पूर्ण उपचार र जीवनभर पालन–पोषणको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।