सिरहा कारागारका नाइके कटुवा पेस्तोल र गोलीसहित समातिए : नाइके समर्थक बन्दीहरुद्वारा कारागारमा आगजनी

सिरहा कारागारका नाइके कटुवा पेस्तोल र गोलीसहित समातिए : नाइके समर्थक बन्दीहरुद्वारा कारागारमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ माघ २०८२
  • 4.6K
    Shares

पोखरा, २७ माघ २०८२।

सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भए पछि स्थानीय प्रशासनले नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ इन्द्रजित यादवको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरेपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेका थिए । त्यसपछि जिल्ला सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको हो।

घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । उनले भने, “हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ, उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी भइरहेको छ ।”

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका निजका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन् । सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन थप सतर्कता अपनाइएको प्रशासनले जनाएको छ । एक सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकै कारण यसअघि गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए ।

प्रतिक्रिया