निर्वाचन सुरक्षा अनुगमनका लागि सातै प्रदेशमा एआईजी खटाइए

निर्वाचन सुरक्षा अनुगमनका लागि सातै प्रदेशमा एआईजी खटाइए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ माघ २०८२
  • 5.8K
    Shares

पोखरा, २६ माघ २०८२।

प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था अनुगमन गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ।

प्रहरी मुख्यालयका अनुसार सातै प्रदेशमा विद्यमान निर्वाचन सुरक्षा चुनौती, तयारी अवस्था र संवेदनशील क्षेत्रको मूल्याङ्कन गर्न एआईजीहरूलाई फिल्डमा पठाइएको हो।

प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा अवस्था बुझ्न खटिएका छन्। मधेस प्रदेशका सबै जिल्लामा स्थलगत अनुगमन गरी एआईजी डम्बर बिक काठमाडौं फर्किसकेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा हेरिएको छ। निर्वाचनअघि दुई दिन होली पर्व पर्ने भएकाले त्यसले चुनावी सुरक्षामा असर पार्न सक्ने आकंलन गरिएको छ।

गण्डकी प्रदेशका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसी, बागमती प्रदेशका लागि एआईजी सिद्धी विक्रम शाह, कर्णाली प्रदेशका लागि एआईजी सुशिल सिंह राठौर र कोशी प्रदेशका लागि एआईजी राजन अधिकारीलाई खटाइएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा कार्य विभाग प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदी अनुगमनमा खटिने भएका छन्।

एआईजीहरूले निर्वाचन सुरक्षासम्बन्धी हालसम्मको तयारी, जनशक्ति तथा साधन–स्रोतको अवस्था र सम्भावित जोखिमको अध्ययन गरी प्रतिवेदन बुझाउनेछन्। सोही प्रतिवेदनका आधारमा निर्वाचन सुरक्षा रणनीति अन्तिम रूप दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया