खोटाङमा बिहे भोज खाएका बेहुला-बेहुलीसहित एकसय ५० जना बढी बिरामी

खोटाङमा बिहे भोज खाएका बेहुला-बेहुलीसहित एकसय ५० जना बढी बिरामी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ माघ २०८२
  • 5.3K
    Shares

पोखरा, २५ माघ २०८२।

खोटाङमा बिहे भोज खाएका एक सय ५० जना भन्दा बढी स्थानीय बासिन्दा बिरामी परेका छन्।

जिल्लाको जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका एक सय ५० जना भन्दा बढी स्थानीय बासिन्दा बिरामी परेका हुन्।

प्राप्त जानकारी अनुसार , माघ २१ गते विवाह भोज खाएका जन्ती तथा स्थानीयहरू माघ २२ गते साँझदेखि एकपछि अर्को गर्दै बिरामी पर्न थालेका हुन् । प्रारम्भिक लक्षणका रूपमा ज्वरो आउने, काम्ने, झाडापखाला लाग्ने र वान्ता हुने समस्या देखिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

भोजमा सहभागी बेहुला र बेहुलीसमेत बिरामी परेका छन् । बिरामीको संख्या एक्कासि बढेपछि दिप्लुङस्थित निगालावास भञ्ज्याङमा स्थानीय रामकुमार राईको निवासमा अस्थायी उपचार शिविर स्थापना गरी उपचार थालिएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्काले जाकारी दिए।

गाउँपालिका उपाध्यक्ष खड्काका अनुसार, गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको संयुक्त टोली परिचालन गरिएको छ । बिरामीको चाप बढेपछि स्वास्थ्य कार्यालयबाट थप जनशक्ति र औषधि मगाइएको छ ।

हालसम्म अधिकांश बिरामी उपचारपछि घर फर्किसकेका छन् । यद्यपि करिब ३५ जनाको अवस्था गम्भीर रहेकाले स्लाइन पानी, जीवनजललगायत औषधि प्रयोग गरी उपचार भइरहेको छ । बिरामी आउने–जाने क्रम अझै जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भोज खाएर फर्किएका उदयपुर र काठमाडौंलगायत स्थानका पाहुनासमेत बिरामी परेको सूचना आएको उपाध्यक्ष खड्काले जानकारी दिए । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रदेशस्तरबाट खाद्य नमुना संकलनका लागि प्राविधिक टोली बोलाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए ।

स्वास्थ्य अधिकारीहरूका अनुसार प्रारम्भिक रूपमा फुड प्वाइजनिङको आशंका गरिएको भए पनि प्रयोगशाला परीक्षणपछि मात्रै यथार्थ कारण पुष्टि हुने छ । स्थानीय तहले सर्वसाधारणलाई सचेत रहन र समस्या देखिए तत्काल उपचारमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया