बैतडीमा जन्ती बस दुर्घटना अपडेट : मृत्यु भएका १३ जनाको खुल्यो पहिचान, ३६ जना घाइते

बैतडीमा जन्ती बस दुर्घटना अपडेट : मृत्यु भएका १३ जनाको खुल्यो पहिचान, ३६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ माघ २०८२
  • 3.9K
    Shares

पोखरा, २३ माघ २०८२।

बैतडीमा बिहिबार साँझ भएको जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। उक्त दुर्घटनामा घाइते भएर थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएका थप ५ जनाको निधन भएपछि मृतकको संख्या १३ पुगेको हो। 

डडेल्धुरा लगिएका बझाङ बित्थडचिर गाउँपालिका वडा नं. ७ का १७ वर्षीय बिसन दत्त जोशी, सोही ठाउँका २८ वर्षीय दिपक राज जोशी, ४६ वर्षीय किसन दत्त जोशी, केदारस्यु गाउँपालिका वडा नं. ७ का २७ वर्षीय केशवराज भट्ट र पुचौँडी नगरपालिका वडा नं. ७ का १५ वर्षीया शुसिला जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय डिलेश्वरी माविको स्कुल बसबाट डडेल्धुरा अस्पताल लगिएको सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले जानकारी दिए। डिलेश्वरी माविको स्कुल बसबाट २५ जना, जीप मार्फत १२ र एम्बुलेन्सबाट गम्भीर घाइते ३ जना गरी ४० जना घाइतेलाइ डडेल्धुरा अस्पताल लगिएको थियो। गम्भीर घाइते तीन जनालाई डडेल्धुराबाट धनगढी रेफर गरिएको छ ।

दुर्घटना भएको जानकारी पाउनासाथ पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटि खटिएको थियो यस्तै पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको थियो । निर्वाचनका लागि फिल्ड खटिएको नेपाली सेनाको टोलि समेत घटनास्थल पुगेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले दुर्घटनामा घाइतेहरुको उद्धारमा सहयोग गरेका थिए । क्षमता भन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रहरीले आसंका गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताए ।

बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा  पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ का ४० वर्षीय पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै, बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बस सडकबाट २ सय मटिर तल खसेको छ। दुर्घटनापछि बस चालक बिरेन्द्र बुढालाई प्रहरी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया