पोखरा, २२ माघ २०८२।
मोही जग्गा दर्ता सम्बन्धमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका भक्तपुर जिल्ला मालपोतका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसहितको मुद्दामा बयान फेर्ने दुई जना सरकारी साक्षीबिरुद्ध अख्तियारले भ्रस्टाचार मुद्दा चलाएको हो ।
घुस प्रकरणमा सरकारी साक्षी बनेका भक्तपुरको चाँगुनारायण नगरपालिका-४ का तेजबहादुर तामाङ र सानु कान्छा तामाङले आफ्नो बयान फेरे पछि उनीहरुबिरुद्द भ्रस्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जानकारी दिएको छ।
अदालतमा झुटो बकपत्र गरेर भ्रष्टाचार निवारणमा बाधा पुर्याएको अभियोगमा तामाङद्वयलाई प्रतिवादी कायम गरी साढे २४ लाख बिगोसहित जरिवाना र कैद सजायको माग गरिएको छ ।
मोही जग्गा दर्ता सम्बन्धमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका आचार्यसहितलाई मुद्दा दायर गरिएको थियो । उनीहरूलाई सजायमा पूर्ण छुट दिने गरी सरकारी साक्षी बनाएको भए पनि विशेष अदालतमा बकपत्रमा आयोगमा दिएको भन्दा उल्टो बयान दिँदै घुस/रिसवतको घटनालाई इन्कार गरेको अख्तियारले जनाएको छ ।