पोखरा, २२ माघ २०८२।
रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने चुनावी अभियानको सिलसिलामा चितवन आएका छन् ।
भरतपुर विमानस्थलबाहिर उनको स्वागतमा कार्यकर्ता र समर्थकको भिड लागेको थियो ।
रवि आज दुईवटा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् ।
रविले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र २ नम्बर अन्तर्गत पर्ने भरतपुर महानगर वडा नम्बर ११, विशालचोकमा गृह प्रवेश कार्यक्रम रहेको रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले जानकारी दिए । भुसालका अनुसार यो घर उनले चुनावी प्रयोजनकै लागि भाडामा लिएका हुन् ।
अघिल्लो निर्वाचनमा पनि रविले घर भाडामा लिएका थिए । आज प्रवेश गर्ने भनिएको दुई तले घर पनि भाडामा लिइएको हो ।
उनका अनुसार चितवन आएपछि बिहान सवा १२ रविका प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलको घर नजिकै रहेको हरिकिर्तन मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् ।
अघिल्लो निर्वाचनमा पनि सोही मन्दिरमा पूजा गरेर प्रचार थालिएकोले यो वर्ष पनि पहिले स्वस्तिशान्ती पूजा गर्न लागिएको भुसालको भनाइ छ । त्यसपछि दिउँसो भरतपुर ११ विशालचोकमा भाडामा लिइएको घरमा गृह प्रवेशको कार्यक्रम रहेको उनले जानकारी दिए ।





