टर्किस एयरलाइन्स उड्नासाथ दायाँ इन्जिनमा आगलागी : कलकत्ता डाइभर्ट

टर्किस एयरलाइन्स उड्नासाथ दायाँ इन्जिनमा आगलागी : कलकत्ता डाइभर्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ माघ २०८२
  • 6.8K
    Shares

टर्किस एयरलाइन्स

पोखरा, २१ माघ २०८२।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ ।

टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२८ बजे उडे लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गरेका जहाजका क्याप्टेनले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गरेका महाप्रबन्धक सिटौलाले बताए।

सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकाता डाइभर्ट भएको थियो । उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।

‘अहिले टर्किसको त्यो जहाज कोलकतामा सुरक्षित अवतरण भइसकेको छ,’ विमानस्थल महाप्रबन्धक सिटौलाले भने, ‘हाम्रो विमानस्थल पनि सामान्य अवस्थामा सञ्चालनमा आइसक्यो ।’

प्रतिक्रिया