कास्कीमा एकै घरका तीन सन्तानलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

कास्कीमा एकै घरका तीन सन्तानलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ पुष २०८२
  • 8.6K
    Shares

पोखरा, २१ पुष २०८२।

कास्कीमा एकै घरका तीन सन्तानलाई आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ दाङ्सिङकी स्थायी वासिन्दा निरुता नेपालीका तीन सन्तान सुजन नेपाली, दिनेश नेपाली र सुस्मिता नेपालीलाई आमाको नामबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो। कास्कीका सहायक प्रजिअ चित्राङ्गद बरालले आमाको रोहबरमा आइतबार तीनै जनालाइ नागरिकता प्रदान गरे ।

अन्नपूर्ण गाउँपालिकामा गएको मंसिर १२ गते सञ्चालित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा निरुता नेपालीले आफ्ना सन्तानको जन्मदर्ता प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्र प्राप्तिमा समस्या भएको गुनासो गरेकि थिइन । सोही कार्यक्रममा उपस्थित कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त गुनासो सुने पछि पालिकाका कर्मचारी र वडा अध्यक्षलाई तत्काल समन्वय गरेर पहल अगाडि बढाउन निर्देशन दिएकी थिइन् । सोही निर्देशन बमोजिम आमा निरुता नेपालीको समस्या पहिचान भए पश्चात सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा उनीहरुको जन्मदर्ता गराई आमाको नामबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ।

प्राप्त विवरण अनुसार , हाल चार बच्चाकी आमा निरुता नेपालीले काम गर्ने क्रममा आफू १४ वर्षको हुँदा २०५३ सालतिर  पूर्व खोटाङ घर बताउने विक्रम राईसँग प्रेम पश्चात कायम भएको सम्बन्धले निज सन्तानहरुको जन्म भएको थियो। तर राई श्रीमति र छोराछोरीलाई छाडेर वेपत्ता भएपश्चात उनीहरुको बाबुको पहिचान हुनै कुनै कागजात र प्रमाण पेश हुन सक्ने अवस्था थिएन।

स्थानीय तह अन्नपूर्ण गाउँपालिका वडा नं ०८) बाट गरिएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडा मुचुल्का, प्रहरी मुचुल्का समेतका आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिमका बुझ्नु पर्ने प्रमाण र तथ्य बुझी आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।

नेपालको संविधान २०७२ अन्तरगत रहेर बनेको नेपाल नागरिकता संशोधन ऐनले बाबुको पहिचान नभएका सन्तानलाई आमाको नाममा नागरिकता दिनुपर्ने कानूनी ब्यबस्था गरेको छ। तर स्थानीय पालिका र प्रशासनका अधिकारीहरुले विभिन्न कानूनी झमेला देखाएर आमाको नाममा नागरिकता दिन सिफारिश गर्न आनाकानी गर्दै आएका छन्। जले गर्दा सर्वसाधारण नेपाली जनता आफनी देशमा अनागरिक भएर बस्न बाध्य त छन् नै , राज्यले उपलब्ध गराउने सुविधाहरु लिने सुबिधाबाट पनि बन्चित बन्ने गरेका छन्।

एकातिर आमाले स्वघोषणा गरेको अवस्थामा स्थानीय पालिका र प्रशासनले आबश्यक जाँचबुझ गरेर आमाको नाममा नै सन्तानले नागरिकता पाउने कानूनी प्राबधान छ नै , अर्कातिर सन्तानले आफ्नो नागरिकतामा आमाको नाम थर मात्र राख्न सक्ने बैधानिक बाटो छ। तर विभिन्न कानूनी झमेला देखाएर अधिकारीहरु आफ्नै देशमा अनागरिक बनिरहेका नागरिकहरुलाई झुलाउने गर्छन।

दाङसिङकी निरुता नेपालीले मात्र हैन यस्तो समस्या लिएर विभिन्न नेता , सरकारी कार्यालय र स्थानीय पालिकामा धाउन बाध्य नेपाली अनागरिकहरुलाई नागरिक बनाउन स्थानीय प्रशासनले अझै शाहस र पहल गर्नु पर्ने देखिन्छ।

प्रतिक्रिया