लमही गोलीकाण्ड : संलग्न आरोपमा पक्राउ परे जेलबाट भागेका कैदी

लमही गोलीकाण्ड : संलग्न आरोपमा पक्राउ परे जेलबाट भागेका कैदी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ पुष २०८२
  • 3.8K
    Shares

पोखरा ५ पुष २०८२।

जेन जी आन्दोलनका क्रममा तुल्सिपूर कारागारबाट भागेका कैदी नै चर्चित लमही गोलीकाण्डमा संलग्न रहेको देखिएको छ।

दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएको आरोपमा पक्राउ परेका दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसी जेन जी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका कैदी भएको पुष्टि भएको छ।

लागू औषध दुरुपयोग मुद्दामा १५ वर्षको जेल सजाय भोगिरहेका केसी गएको भदौ २४ गते भएको जेन जी आन्दोलनका बेला तुलसीपुर कारागारबाट भागेका थिए। त्यस लगत्तै उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीले पत्ता लगाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन किन्न आएको ग्राहकको रूपमा पसल प्रवेश गरी गोली प्रहार गरेका थिए। घटनापछि फरार भएका उनलाई शुक्रबार बिहान दाङको राजपुर गाउँपालिकास्थित जंगल क्षेत्रबाट पक्राउ गरिएको हो।

केसी भदौ २५ गते जेनजी आन्दोलनका बेला तुलसीपुर कारागारबाट फरार भएका थिए। रुकुममा भएका आपराधिक घटनामा संलग्न भई १५ वर्षको कैद सजाय भोगिरहेका केसीलाई २०८१ सालमा तुलसीपुर कारागारमा सारिएको थियो। फरारपछि केही समय भारतमा बसेका उनी स्वदेश फर्किएर पुनः आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गोली प्रहारपछि केसी लमहीकै एक होटेलमा गएर बसेको र घटनामा प्रयोग गरिएको पेस्तोल त्यहीँ लुकाएर फरार भएको प्रहरीको भनाइ छ। मंसिर २७ गते होटेलको कोठा सरसफाइका क्रममा लुकाइएको पेस्तोल पड्किँदा एक जना कामदार सामान्य घाइते भएका थिए। मंसिर २१ गते भएको उक्त गोली प्रहार घटनाबारे दाङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी अनुसन्धानबाट होटल रोयल प्यालेसमा चलेको गोली र घटनास्थलबाट बरामद गरिएको पेस्तोल पनि लेखराज केसीकै भएको पुष्टि भएको छ। अन्य घटनाहरूको विषयमा प्रहरी थप अनुसन्धानमा जुटिरहेको छ भने यस घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न प्रहरी प्रशासन सफल भएको छ।

हाल लमही क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएको अवस्थामा प्रहरीले नागरिकलाई सचेत रहन आग्रह गरेको छ। घरमा धेरै धनराशी नराखी बैंकमा सुरक्षित राख्न, घर छोडेर बाहिर जाँदा छिमेकीको सहयोग लिन तथा आफ्नै तर्फबाट पनि आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया