काठमाडौं । कमेडियन सुमन कोइराला “दले दाई”ले प्रेमिका शोभा गौलीसँग शनिबार लगनगाँठो कसेका छन् ।
काठमाण्डौको पुरानो बानेश्वरस्थित नेपाल आर्य समाज केन्द्रीय सभाको भवनमा आज आयोजित वैवाहिक समारोहमा कमेडियन कोइरालाले प्रेमिका शोभा गौलीसँग शनिबार लगनगाँठो कसेका हुन् । उक्त वैवाहिक समारोहमा दुवै पक्षका परिवार, आफन्त र कमेडी कलाकार सहभागी थिए ।
दुई वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । नेपालमा तनहुँ घर भएकी शोभा परिवारसहित अमेरिकामा बसोबास गर्दै आएकी छिन् ।
कोइराला कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा ‘दले दाइ’ भन्ने हास्य पात्रका कारण चर्चित बनेका थिए।
‘अब हाँस्छ अमेरिका’ कमेडी टूर लिएर सुमनसहितको टोली अमेरिकाको मेरिल्याण्डमा जाँदा शोभा कार्यक्रममा सहभागी हुन परिवारसहित पुगेकी थिइन् । त्यतिबेला नै यी दुईबीच पहिलो भेट भएको जनाइएको छ ।
कोइराला अहिले ‘कमेडी नाइट्स विथ च्याम्पियन’ मा ब्यस्त छन् । एक दशक लामो उनको कमेडी करिअर एरिना टिभीबाट शुरु भएको थियो । स्टेज कार्यक्रममा पनि सक्रिय उनको लोकप्रियता कमेडी च्याम्पियन सिजन १ बाट ह्वात्तै बढ्यो ।
यो कार्यक्रमबाट उनी ‘दले दाई’को रुपमा हिट भए । धेरै उनलाई वास्तविक नामभन्दा दले दाईको रुपमा चिन्छन् ।