काठमाडौँ, १३ कार्तिक २०८२ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ । एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षक रसले तीन दिनअघि नै राजीनामा दिएको रातोपाटीलाई जानकारी दिएका हुन् ।
राईका अनुसार रसले राजीनामा दिनुको कारण खुलाएका छैनन् । उनले एन्फाको कारणले राजीनामा नदिएको समेत स्पष्ट पारेका छन् ।
अस्ट्रेलियन प्रशिक्षक रस गत फागुनमा मात्रै नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । यसरी उनको कार्यकाल निकै छोटो रहेको छ ।