पोखरा ४ कार्तिक २०८२।
नेपाली मात्रको महान चाडहरु मध्येको एक तिहार शुरु भएसंगै देशैभर प्रहरीले जुवातास बिरुद्धको अभियान चलाइरहेको छ। यो अभियान कास्की जिल्लामा पनि चलाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी युनिटहरुले पनि ब्यापक मात्रामा जुवातास बिरुद्धको अभियान अन्तरगत ब्यापक धरपकड गरिरहेका छन्।
कास्की प्रहरीले अभियानकै क्रममा जुवातास खेलिरहेका जुवाडेहरुका बारेमा विवरणहरु सार्वजनिक भने गरेको छैन। सोमबार मात्र पोखराको नयाँबजारस्थित जुवाखालवाट समातिएका जुवाडेहरुका बारेमा कास्की प्रहरीले विवरण सार्वजनिक गरेको छैन भने “पामे चंखपुर देखी हल्लन चोकमा हिजो भएको फराँस र कौडाको करोड बढि कारोबारको खेलमा प्रहरीको दुरुपयोग भएको र चुप बसेको गुनासो आएको” भन्दै पोखराका पत्रकार सुमन ढुंगानाले सामाजिक संजालमा खुलासा गरेका छन्। उनले उक्त तथ्यको “रहस्य खुल्दै जालान् !” भनेर अपेक्षा पनि राखेका छन्।

यसैबीच प्राप्त जानकारी अनुसार , स्याङ्जाको गल्याङ नगरपालिका –१ मालुङ्गास्थित गणेश बस्यालको घरमा जुवातास खेलिरहेका जनप्रतिनिधिसहितका सातजना जुवाडे पक्राउ परेका छन्।
पूर्व वडाध्यक्ष समेत रहेका बस्यालको घरमा प्रहरीले छापा मार्दा नेपाली काङ्ग्रेसबाट स्थानीय तह निर्वाचन २०७४ र २०७९ का निर्वाचित बहालवाला वडासदस्य ओम प्रसाद श्रेष्ठसहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
प्रहरीले पूर्व वडाध्यक्ष बस्याल , बहालवाला वडा सदस्य श्रेष्ठको साथमा गल्याङ नगरपालिका -१ कै ७२ वर्षीय कुस्मखर न्यौपाने, ५१ वर्षीय लक्ष्मीप्रसाद बस्याल, ४४ वर्षीय सुन्दर बस्याल, ४२ वर्षीय चुडामणि बस्याल र लोकनाथ बस्याल समेतलाई पक्राउ गरिएको बताएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङको संयुक्त टोलीले प्रहरी नायब उपरीक्षक कमलराज पण्डितको कमाण्डमा असोज ३ गते दिउँसो करिब साढे ३ बजेतिर गरिएको छापामा तीन बुक तास र एकलाख ९७ हजार सात सय रुपैयाँ नगद समेत बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
सूचना अधिकारी चौधरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।