पोखरा २ कार्तिक २०८२
सप्तरीमा गएराती एक जना पुजारीको गोली हानि हत्या गरिएको छ।
जिल्लाको बोदेबर्साइन नगरपालिका- ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरको पुजारी ७० वर्षीय रामदुलार साहको गोली हानि हत्या गरिएको हो।
आफ्नो कुटीमा एक्लै बस्ने पुजारी साहलाई राति करिब सवा २ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।
उनलाई ढाडमा गोली हानिएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा दुई थान खोका फेला परेको छ। गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।