पोखरा, २८ असोज २०८२।
वीरगन्जस्थित एक सुन व्यवसायीको घरबाट अबैध रुपमा लुकाई राखिएको ठुलो मात्रामा सुन बरामद भएको छ।
वीरगन्जस्थित अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको माहनागरपालिका वडा नम्बर ८ माईस्थानस्थित घरमा अवैध रूपमा नेपाल भित्र्याई लुकाएर राखेको अवस्थामा दुई किलो दुइसय ५४ ग्राम सुन र १० किलो तीन सय ५४ ग्राम चाँदी बरामद भएको हो।
राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले सर्राफको उक्त घरमा सोमबार गरिएको खानतलाशीका क्रममा उक्त परिमाणमा सुन तथा चांदी बरामद भएको बताइएको छ।
उक्त टोलीले घरभित्रका विभिन्न कोठा र सुरक्षित स्थानहरूमा लुकाइएका सुनचाँदीका गहना, बन्धकी राखिएका बहुमूल्य वस्तुहरू र कारोबारसँग सम्बन्धित कागजातहरू समेत बरामद गरिएको गरेको जनाइएको छ।
प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार, कारोबारसँग सम्बन्धित खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएका छन्। अधिकारीहरूले सर्राफलाई पठाएको पत्रमा भनिएको छ, ‘राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा यो खानतलासी गरिएको हो। राजस्व चुहावट ‘अनुसन्धान तथा नियन्त्रण’ ऐन, २०५२ बमोजिम आवश्यक प्रमाणहरू कब्जामा लिइनेछ।’हाल टोलीले बरामद गरेको सुन लगायतका सामग्री माईस्थानमा रहेको सुनचाँदी व्यवसायी संघको कार्यालयमा लगी तौल तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। यसै क्रममा अभिषेक सर्राफलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए ।
सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ । त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ ।