जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने ब्यक्ति झापामा लागूऔषधसहित समातिए

जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने ब्यक्ति झापामा लागूऔषधसहित समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ असोज २०८२
  • 6.3K
    Shares

पोखरा, २६ असोज २०८२।

जेन जी आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीहरुका हतियार लागू औषध कारोबारीहरुले प्रयोग गर्ने गरेको भेटिएको छ।

झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट लागू औषध कारोबारीको आरोपमा पक्राउ परेका आठ जना युवाहरुले इलाका प्रहरी कार्यालय दमक झापाबाट लुटिएको हतियार प्रयोग गरेको भेटिएको हो।

वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट लागू औषध कारोबारीको आरोपमा पक्राउ परेका आठ जना युवाहरु मध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बुले इलाका प्रहरी कार्यालय दमक झापाबाट लुटिएको हतियार प्रयोग गरेको भेटिएको प्रहरीले जानकारी दिएको छ।

आदित्य लिम्बु जेन जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा समेत संलग्न रहेको प्रहरीले आरोप लगाएको छ। उनीसंग संगै रहेका मिक्लाजुङ–८, मोरङका २० वर्षीय निश्चल पोर्तेल पनि पक्राउ परेका छन्। पोर्तेल जेन जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतबाट भागेका फरार अभियुक्त हुन् । उनी प्रहरी हिरासतमा नफर्किई लागू औषधको कारोबारमा लागेको बताइएको छ।

लिम्बु र पोर्तेलको साथमा प्रहरीले वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट लागू औषध कारोबारीको आरोपमा दमक–३, भुटानी शरणार्थी शिविर का २७ वर्षीय साजन थापा, सोहि ठाउँका बिजय माझी दमक–३ का १९ वर्षीय पबिन बिस्वकर्मा , २५ वर्षीय सुचन दर्जी, चुलाचुली–३, इलामका ३२ वर्षीय दिपेश तामाङ, सोही ठाउँका ३२ वर्षकै सनम राईलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार साँझ गोप्य सूचनाको आधारमा शिविरमा बसोबास गर्दै आएका साजन थापाको घरमा छापा मार्दा हेरोइन सेवन तथा बिक्री–वितरणको तयारी भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

खानतलासीका क्रममा चस्माको खोलभित्र लुकाइएको अवस्थामा ७ ग्राम ८०० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । बरामद लागुऔषध डिजिटल तराजुमा तौल गरी प्रमाणसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीले लागुऔषध बिक्री र वितरणमा संलग्न समूहको नेटवर्कबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया